loader

Breaking News

एनएच-10 मार्च 2026 भित्र व्यवधानरहित सञ्चालनमा आउनसक्ने

Image
 


सिक्किमका सडक एवं पुल विभागका मन्त्री एनबी दाहालले मंगलवार  नेशनल हाइवेज एण्ड इन्फ्रास्टक्चर डेभलोपमेन्ट कर्पोरेशन लिमिटेड अर्थात् एनएचआईडीसीएल -का एक्जुकेटिभ डाइरेक्टर जगदीप सिंह टुंगसित भेट्दै राष्ट्रिय राजमार्ग 10 –को वर्तमान अवस्था अनि भविष्यगत योजनाहरूबारे जानकारी लिए। सिलगढ़ीस्थित एनएचआईडीसीएल कार्यालयमा मन्त्रीले एनएच 10 –लाई लिएर राजमार्गमा यातायात व्यवस्थालाई सुचारू रूपले व्यवस्थित गर्ने दिशामा एजेन्सीको पहलकदमीबारे पूर्ण विवरण लिँदै जगदीप टुंगसित चर्चा गरे।
उल्लेखनीय छ, राज्यका मुख्यमन्त्री पीएस गोलेको निर्देशमा नै आफूले  एनएचआईडीसीएलका एक्जुकेटिभ डाइरेक्टरलाई भेटी एनएच 10-को वर्तमान अवस्था अनि आउने दिनहरूमा यसमाथि गरिइने परियोजनाहरूबारे विस्तृत विवरण लिएको बताएका छन्।
यस अवधि मन्त्री दाहालले एनएच 10 सितै एनएच 717A –को रेगुलर मेन्टेनेन्स अनि भविष्यका प्लानहरूमाथि पनि चर्चा गरे।
आउँदो 31 मार्च 2026 भित्रमा एनएच 10 पूर्णरूपले व्यवधानरहित सञ्चालनमा आउनसक्ने आशा व्यक्त गरिएको छ। यसबाहेक एनएच 10-का दीर्घमियादी विविध परियोजनाहरू पूरा गर्न डीपीआर-का लागि टेण्डरसमेत भइसकेको मन्त्रीले जनाएका छन्।
एनएच 10 –लाई लिएर सिक्किम अनि बंगाल सरकारले एकाअर्कासित सामञ्जस्य राख्दै  एनएचआईडीसीएल-लाई सदैव सहयोग पुऱ्याइरहेको पनि मन्त्री दाहालले बताएका छन्। 
स्मरण गराइन्छ, पश्चिम बंगाल अन्तर्गत पर्ने राष्ट्रिय राजमार्ग 10 –को सेवोकदेखि रम्फूसम्मको 52.10 किलोमीटर लामो अंशको देखरेखको जिम्मा केन्द्रिय एजेन्सी नेशनल एनएचआईडीसीएल-लाई  2024 -को अक्टोबर महिनामा सुम्पिएको हो। त्यसपछि एनएच 10 -को समुन्नत परिकल्पनाका लागि राजमार्ग निर्माणलाई लिएर अल्प, मध्य र दीर्घ मियादी चरणहरू अन्तर्गत राजमार्गका संवेदनशील क्षेत्रहरूमा लिखुभीर, सेल्फी डाँड़ा र मल्लीलाई चिन्हित गर्दै एनएच 10-लाई रम्फूसम्म पुऱ्याउन ठाउँ-ठाउँमा फ्लाइओभरहरू बनाइने अनि बिच-बिचमा टनलहरू बन्ने सम्भावित परिकल्पनाहरू रहेको बताइएको थियो।
एनएच-10  सिक्किम-कालेबुङको जीवन रेखा हो। यसका साथै भारत-चीन संवेदनशील अन्तरराष्ट्रिय सीमाका लागि सैन्य वाहनहरूको आवागमनका लागि पनि यो मार्ग खूबै महत्त्वपूर्ण रहिआएको छ। यति महत्त्व र विशेषता बोकेको यो राजमार्गमा जताततै पैह्रो जाने अनि सड़क धस्किने भएकाले पटक-पटक यातायात बाधित हुनेगरेको छ। जसले गर्दा सिक्किम अनि पश्चिम बंगालका पहाड़ी क्षेत्रको अर्थव्यवस्थामा पनि ठूलो प्रभाव पर्न जाँदछ। 
राष्ट्रिय राजमार्ग 10 बन्द हुँदा सिक्किमलाई दैनिक सय करोड़भन्दा धेर घाटा हुनेगरेको सिक्किमका मुख्यमन्त्री पीएस गोले स्वयमले बताएका थिए।
विगत 3-4 अक्टोबर 2023 –मा आएको टिस्टा त्रासदीले गर्दा राष्ट्रिय राजमार्ग 10 –को अवस्था पूरै बिग्रिएर गएको थियो।


Leave a Comment